Smart Waling

   तत्कालै
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
डायलाइसिस सेन्टरको सबै सेवा निशुल्क र गुणस्तरीय बनाउने प्रयास
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल

    लोकप्रिय
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल
गडहरे गुफाको प्रारम्भिक भौगर्भिक अध्ययन प्रतिवेदन सार्वजनिक
SOD अध्यक्ष ढुंगानाद्वारा विद्यालयमा मास्क वितरण
नगर यातायात गुरू योजनाको मस्यौदा माथि बृहत् छलफल
राष्ट्रिय एकता दिवसको अवसरमा भीरकोटमा पनि सार्वजनिक विदा
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा
सुशासनको धज्जी उडाउँदै जनप्रतिनिधि र कर्मचारीहरू : जनता मर्कामा , नियामक निकाय मौन

विद्यार्थीलाई खाली खल्ती एक हप्ताको साइकल यात्रामा पठाउने विद्यालय

विजयमणि पौडेल, मंसिर २३

‘हिजोको दासप्रथा वा कति कुरालाई आज हामी अन्धविश्वास वा कुप्रथा भन्छौं। आजको शिक्षालाई केही वर्षपछि त्यस्तै त्रास, घृणा र अविश्वासको नजरले हेरिनेछ।’

भारतको राजस्थानमा वैकल्पिक तरिकाको सिकाइ सुरू गरेका मनिष जैन धेरै मन्चमा माथिका कुरा दोहोर्‍याउँछन्।

उनलाई लाग्छ, परीक्षामा कम अंक ल्याएको आधारमा बालबालिकालाई ‘असफल’ को ट्याग लगाइने आजको ‘स्कुलिङ’ मानवताविरूद्धको एक ठूलो अपराध हुन सक्छ।

उनी भन्छन्, ‘२० वर्षपछि हामीलाई पश्चाताप हुनेछ। त्यस बेला हामी भन्नेछौं कि निर्दोष बालबालिकालाई हामीले किन यस्तो गर्‍यौं!’

उनलाई यस्तो लाग्नुको कारण हो- आजका ‘शिक्षित’ विद्यार्थीहरूलाई आफ्नो परम्परा, पुर्खा, संस्कृतिप्रति लज्जाबोध हुन्छ। उनीहरूलाई पसिना बगाउने काम गर्न लाज लाग्छ। आजको विद्यालयमा विद्यार्थीहरूले आफ्नो भाषामा बोल्दा पिटाइ खान्छन् वा सजाय भोग्नुपर्छ। किसान बन्न कसैलाई पनि उत्प्रेरित गरिँदैन। आफ्नो समुदाय र पुर्खाको सबै ज्ञानलाई ‘अज्ञान’ वा ‘रुढीवाद’ भन्दै सिकाइएको छ। अनि, ‘शिक्षित’ र ‘अशिक्षित’ बीच एउटा खाडल सिर्जना गरिएको छ जसले सामाजिक समन्वय भत्काउने निश्चित छ।

उनलाई यस्तो प्रणालीमा आफ्नी छोरी पढाउन मन लागेन। त्यसपछि उनले सुरू गरे- स्वराज विश्वविद्यालय।

यस विश्वविद्यालयमा विद्यार्थीहरूलाई ‘खोजी’ भनिन्छ। यसलाई ‘युनिभर्सिटी’ भनिए पनि यो अन्य विश्वविद्यालय जस्तो लाग्दैन।

हरेक व्यक्तिको जीवनमा ‘स्वराज’ ल्याउने दर्शनबाट प्रेरित यस विश्वविद्यालयको सिकाइको तरिका महाभारतका पात्र एकलव्यबाट प्रभावित छ। एकलव्यजस्तै यहाँ ‘खोजी’ हरू आफ्नो रूचि, प्रश्न, सरोकार र सपनाको आधारमा आफ्नो ‘सिकाइ’ आफैं डिजाइन गर्छन्।

यस सिकाइको क्रममा उनीहरू समुदाय र पर्यावरणसँग नजिक हुन्छन्। मूलधारको स्कुल-कलेजमा ‘विज्ञ’ र ‘शिक्षित’ नमानिने समुदायका आम मानिसहरूसँग सिक्छन्। कक्षाकोठाको भित्ताबाहिर वास्तविक जीवनका अनुभवहरूसँगै सिक्छन्। उनीहरू पहिल्यै सिकेको कतिपय कुरालाई छोड्ने कोसिस गर्छन्।

म आफूआबद्ध किङ्स कलेजका केही शिक्षकहरूसँगको भेटघाटमा मनिष जैनले सोधे, ‘जिन्दगीमा अगाडि बढिरहन कुन कुराले उत्प्रेरित गरेको छ?’

सबै सहभागीको जवाफ जीवनको विभिन्न समयमा उनीहरूले भोगेका घटना थिए। उनीहरूको अनुभव थियो।

उनले प्रश्न सोधेर इंगित गर्न खोजेका थिए कि जीवनमा अगाडि बढ्नका लागि मानिसहरूको भोगाइहरूको पनि महत्वपूर्ण स्थान हुन्छ। पर्यावरण, समाज, परिवार र आफूसँगको अन्तरक्रिया अर्थपूर्ण हुन्छ।

कुराकानीको क्रममा उनी सुनाउँदै थिए, स्वराज विश्वविद्यालयमा ‘खोजी’ हरूलाई सिकाइको दौरान एक हप्ताको साइकल यात्रामा पठाइने रहेछ। त्यस समय उनीहरू पैसा बिना साइकलमा विभिन्न समुदायमा गएर बस्नुपर्ने रहेछ। उनीहरू आफैंले आफ्नो लागि खाने बस्ने व्यवस्था गर्नुपर्ने रहेछ।

‘खोजी’ हरूसँग एक सातासम्म खल्तीमा पैसा हुँदैन। विद्यालय/कलेजमा सिकेर आएको ज्ञान र अंग्रेजी भाषा काम लाग्दैन। उनीहरूले मोबाइल फोन र कुनै पनि इलेक्ट्रोनिक सामान बोक्दैनन्।

यस्तो अवस्थामा उनीहरू प्रकृतिसँग र गाउँमा मानिसहरूसँग जोडिन खोज्छन्। सम्बन्ध बनाउँछन्। आफ्नो सिर्जनशीलताको भरपूर प्रयोग गर्छन्। खेतबारी र गोठमा काम गर्न जान्छन्। उनीहरूले जे दिए, त्यो खान्छन्।

उक्त एक सातामा धेरै ‘खोजी’ हरूको ‘आफूलाई धेरै कुरा आउँछ’ भन्ने अभिमान चकनाचुर हुन्छ। गाउँलाई पिछडिएको मान्ने र गाउँलेहरूलाई ‘असभ्य’ देख्नेहरूको सोचमा हलचल आउँछ। उनीहरूलाई गाउँलेहरूको जीवन-कथा थाहा हुन्छ। उनीहरूको सामर्थ्य र समस्याहरू थाहा हुन्छ।

उनीहरू विद्यालयमा हुँदा सधैं ‘अविकसित’  र ‘अशिक्षित’ भनेर चित्रित गरिएका गाउँका मानिसहरूमा ज्ञान देख्न थाल्छन्। उनीहरू ‘शिक्षित’ भनिएका मानिसहरूमा कमै देखिने मानवता, विनम्रता, सहजता, उद्यमशीलता, आदि गाउँका मानिसहरूमा देख्न थाल्छन्।

एउटा भनाइ नै छ- मानिसले कि पढेर सिक्छ, कि परेर सिक्छ। स्वराज विश्वविद्यालयले ‘पढेर’ र ‘परेर’ मात्र होइन, ‘गरेर’ सिक्ने तरिकालाई आफ्नो शैक्षिक गतिविधिमा समावेश गरेको रहेछ।

स्वराज विश्वविद्यालयले अभ्यास गरिरहेको र नेपालका विभिन्न शैक्षिक संस्थाहरूमा छुटिरहेको पक्ष हो- हामीले विद्यार्थीहरूलाई अनुभवजन्य सिकाइको बाटोमा लान सकेका छैनौं। सिकाइलाई आफ्नै समुदाय र पर्यावरणसँग जोड्न सकिरहेका छैनौं।

हुन त हामी मझधारमा छौं। न हामीले विद्यमान अंक/ग्रेडिङ प्रणालीमा राम्रो गरेका छौं, न नविनतम सोचले अगाडि बढ्न सकेका छौं।

आज हामीले देखिरहेको यथार्थ हो- हामीसँग डाक्टर त छन् तर बिरामीसँग जोडिन सक्ने, बिरामीलाई महसुस गर्न सक्ने थोरै छन्। कुन डाक्टरको स्वार्थ के हो थाहा हुँदैन। हामीसँग शिक्षक छन् तर विद्यार्थीलाई महसुस गर्ने र सीप सिकाउँदै उत्कृष्ट जीवनका लागि दिशानिर्देश गर्न सक्ने थोरै छन्।

इञ्जिनियर छन् तर आफ्नो धरातल बुझेर उचित सोच दिन सक्ने कम छन्। पत्रकार छन् तर पत्रकारिताको धर्म निर्वाह गर्ने थोरै छन्। राजनीतिक नेता छन् तर जनतालाई बुझ्ने कम छन्।

प्रायः सबै पेसा, उद्यम र नेतृत्वमा उस्तै अवस्था देख्न सकिन्छ। हाम्रो समाजलाई सरसर्ती हेर्ने हो भने लाग्छ, यहाँ विज्ञहरूको कुनै कमी छैन। तर, समाजमा घुममिल भएर नेतृत्व दिन सक्ने र व्यवस्थापन गर्ने मानिसहरूको कमी छ। इमानदारितामा अडिग भएर आफू वरपरका मानिसहरूको अपेक्षा र द्वन्द्व मिलाउँदै काम सक्नेहरूको कमी छ। आफूभन्दा फरक पहिचान, संस्कृति र परिवेशलाई सम्मान दिँदै समानुभूति राख्न सक्ने मानिसको कमी छ।

पक्कै पनि आजको युगमा भाषा र गणितमा दक्षता चाहिन्छ। स्वस्थ लोकतन्त्रको अभ्यास गर्नका लागि तर्क चाहिन्छ। स्पष्ट विचार चाहिन्छ। दैनिक व्यक्तिगत कारोबारदेखि उद्यम तथा पेसामा गणितीय साक्षरता चाहिन्छ। प्राविधिक कामका लागि सो-सम्बन्धी ज्ञान र सीप त चाहिन्छ नै।

यी सक्षमतासँगै बाल्यकालदेखि विभिन्न सामाजिक र मानवीय सीप र ज्ञान सिकाउनु आवश्यक छ- समुदायका विविधतालाई बुझ्ने र मनन गर्ने, अरूको पहिचानलाई सम्मान गर्ने, आफूलाई सहयोग गर्ने हरेकप्रति कृतज्ञ हुने। अरूलाई आफूलाई जस्तै स्वीकार गर्ने, हरेक मानिस र ठाउँको आफ्नै सामर्थ्य हुन्छ भन्ने बुझ्ने। हामी प्रकृतिका हिस्सा हौं भनेर बुझ्ने, प्रकृतिसँग जोडिने।

शिक्षालाई उद्यमशील सोच र सीपसँग जोड्ने केही प्रयासहरू नेपालमा भएका छन्। मदन शुभद्रा फाउन्डेसनद्वारा सञ्चालित खोटाङको जनजागृति माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई कृषि र प्रविधिसँग जोड्ने प्रयास भएको छ। सुर्खेतको जनज्योति माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरूलाई पढ्दापढ्दै उद्यमशीलताको अनुभव सिकाउने प्रयास भएको छ।

यस्ता प्रयासहरू अझै बढाउनुपर्छ। सँगसँगै समाजसँग घुलमिल हुने अवसर सिर्जना गर्नु आवश्यक हुन्छ।

फरक भूगोल र संस्कृतिमा पुगेपछि मानिसको अरूलाई हेर्ने दृष्टिकोण बदलिन्छ। महावीर पुन धेरै सार्वजनिक मञ्चहरूमा भन्छन्- आफू जन्मेहुर्केको ठाउँबाट पढ्नका लागि अर्को जाति बसोबास गरेको गाउँमा पुगेपछि उनको आत्मविश्वास बढेको थियो रे!

नेपालबाट विदेश पढ्न वा काम गर्ने जाने धेरै मानिसहरू त्यहाँको अनुभवले आफ्नो दृष्टिकोण फराकिलो भएको, आत्मबल बढेको र फरक भूगोल/संस्कृतिका मानिससँग काम गर्न सक्ने क्षमता बढेको कुराहरू सुनाउँछन्।

टिच फर नेपालका धेरै फेलो शिक्षकहरू दुई वर्ष फरक ठाउँमा काम गरेको अनुभवलाई जिन्दगीकै महत्वपूर्ण हिस्सा र सिकाइको रूपमा लिन्छन्। एक ठाउँको मान्छे अर्को ठाउँमा गएर, त्यहाँका समुदायमा बस्दै र काम गर्दै जाँदा समुदायप्रति माया बढ्ने धेरै फेलोहरू बताउँछन्।

सन् २०१९ मा काठमाडौंमा जन्मिएकी र हुर्किएकी एक नेवार फेलो आफ्नो कार्यस्थल धनुषा पुग्छिन्। धनुषा जानुअगाडि उनलाई मधेशका मुद्दाबारे खासै थाहा थिएन।

उनका छरछिमेक, साथी र आफन्तहरू मधेशीहरूलाई काठमाडौंमा हेपेर बोलाउँथे। त्यसमा उनलाई केही वास्ता लाग्दैन थियो। दुई वर्ष मिथिला बिहारी नगरपालिकाको एउटा गाउँमा काम गरेर फर्केपछि उनी भन्छिन्, ‘अचेल कसैले मधेशलाई अपमानजनक सम्बोधन गर्‍यो भने म आफैंलाई भनेजस्तो लाग्छ। रिस उठ्छ। चित्त दुख्छ। म तत्काल विरोध जनाउँछु।’

एकपटक उनले पढाउने विद्यार्थीहरूले उनलाई प्रश्न गरे, ‘तपाईंहरूको दसैं हामी सबैले मनाउछौं। हाम्रो छठ तपाईं किन मनाउनु हुन्न? तपाईंले बोल्ने नेपाली हामी सबैले बोल्ने। हाम्रो मैथिली तपाईंले किन नबोल्ने? तपाईंले किन नेपालीमा पढाउने? हामी सबैले बुझ्ने हाम्रो भाषामा किन नपढाउने?’

सुरूमा उनी अवाक् भइन्। बालबालिका र उनीहरूका अभिभावकसँग दैनिक संगत गर्दै जाँदा उनलाई मधेशको यथार्थ, सामर्थ्य र पीडा केही भए पनि बुझेको महसुस भयो।

उनले नेवारी र मैथिली संस्कृतिमा केही समानता देख्न थालिन्। विवाह गर्ने विधि केही मिलेजस्तो लाग्यो। आफ्नो घरमा पाक्ने ‘ग्वार्चा’ सँग मिल्दोजुल्दो परिकार उनले धनुषामा पनि देख्न थालिन्। पैसालाई नेवारीमा जस्तै मैथिलीमा पनि ‘ढेवा’ भनिने कुरा पत्ता लगाइन्।

असंख्य भिन्नताहरू भए पनि समुदायमा घुलमिल भएपछि उनलाई सबै आफ्नो जस्तो लाग्न थाल्यो। उनलाई अचेल त्यो दुई वर्षको अनुभव एक विश्वविद्यालयमा गएर सिकेजस्तो लाग्छ जसले उनको सोच र व्यवहार नै परिवर्तन गरेको छ। उनलाई अझ बढी ‘मानिस’ हुन सिकाएको छ।

हाम्रो शिक्षा प्रणालीले विद्यालय र समुदायबीच एउटा भेद खडा गरेको छ। पढेर ‘डिग्री’ लिनेहरूलाई ‘विद्वान’ भनियो। पढ्न नपाउनेहरू वा नपढ्नेहरूलाई ‘अनपढ/अशिक्षित’ भनियो। पढ्न नसक्ने/नपाउनेलाई केही आउँदैन भनियो। उनीहरूको जीवनको अवमूल्यन गरियो।

यस अवस्थामा विद्यालय र समुदाय एकअर्कामा अन्तरघुलित हुने हो भने आजको समयको एउटा गहिरो विभेद हराएर जानेछ। विद्यालय र समुदाय दुवैले एकअर्कासँग भएका ज्ञान र सीप एकअर्कालाई बाँड्नेछन्। त्यसपछि ज्ञानको निर्माणमा बल्ल लोकतन्त्र आउनेछ।

Facebook Comments Box
Facebook Comments Box
Smart Waling

   तत्कालै
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
डायलाइसिस सेन्टरको सबै सेवा निशुल्क र गुणस्तरीय बनाउने प्रयास
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल

   तत्कालै
जिल्ला प्रशासन कार्यालयको प्रशासनिक सेवा स्थगित
बजेटको पूर्ण सदुपयोग भएको छ: नगरप्रमुख खनाल
भीरकोट जेसिजको चौथौं पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न
भीरकोट सिङ्गिङ आइडलको पुरस्कार वितरण
नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको सभापतिमा अर्याल चयन
कोराना कहर नियन्त्रणमा जिल्ला प्रशासनको सक्रियता
डायलाइसिस सेन्टरको सबै सेवा निशुल्क र गुणस्तरीय बनाउने प्रयास
बयरघारीमा खुल्यो सुबिधा सम्पन्न स्पोर्ट्स पसल